भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई पुगेकाहरू काम नपाएर अहिले अलपत्र परेका छन्।

नेपालीहरू अवैध रूपमा गएर काम खोज्न थालेपछि गृह मन्त्रालयले समेत यसमा चासो देखाएको छ। गृह मन्त्रालयले समस्या समाधानका लागि संयुक्त कार्यदल समेत बनाएको छ।

यही समस्या समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठले युएईका राजदूतसँग छलफल समेत गरेका छन्। बिहीबार भएको छलफलमा रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई पुगेर अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोगको आग्रह गरेका थिए।

उनले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गर्दै अवैध रूपमा नेपालीलाई युएई पूर्याएर अलपत्र पार्नेहरूलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा समेत गरेका थिए।

दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरूको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि समेत उनले सहयोग मागेका थिए।

अलपत्र परेका नेपालीहरूको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैर कानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

भेटमा राजदूत साइदले युएई गई समस्यामा परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने समेत बताएका थिए।

माघ १३, २०७८ बिहीबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।