एमाले फुटको असर देशभर, ६ प्रदेशमा गठबन्धनको कब्जा, सोनम ग्याल्जेनले जोगाए एमालेको बिउ

काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नराम्रो हार व्यहोरेको छ।
रिक्त १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता-गठबन्धन दलले १८ सिट कब्जा गर्दा एमाले भने एक सिटमा खुम्चिएको छ।
गठबन्धन दलले ६ वटा प्रदेशमा 'क्लिन स्विप' गरे भने एमालेले प्रदेश १ मा एउटा सदस्य जितेर बिउ जोगायो।
प्रदेश १ मा अल्पसंख्यक समुदायबाट उम्मेदवार बनेका सोनम ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसका उम्मेदवार हेमराज राईलाई हराएर एमालेलाई सान्त्वना दिलाए।
यो प्रदेशमा पनि शेर्पाबाहेक एमालेका अरु कुनै उम्मेदवार जित्न सकेनन्। एमालेका गुरु बराल भाग्यले साथ नदिँदा जित्दा-जित्दै पनि हारे।
एमालेका बराल र कांग्रेसका गोपाल बस्नेतको बराबर मत आएपछि गोलाप्रथाबाट बस्नेत विजयी भएका थिए। दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएपछि गोला हालिएको थियो।
यो प्रदेशमा गठबन्धनकै जयन्ती राई पनि विजयी भएकी छिन्।
मधेश प्रदेशमा पनि पाँचदलीय गठबन्धनकै उम्मेदवारले बाजी मारेका छन्। यो प्रदेशमा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका मोहम्मद बाजी मार्दा एमालेका कुनै पनि उम्मेदवारले जित्न सकेनन्।
बागमती प्रदेश एमालेका लागि निकै मजबुत मानिन्छ। स्थानीय तह मात्र होइन, संघीय र प्रदेश सभामा पनि यो क्षेत्रमा एमालेको उपस्थिति निकै बलियो छ।
तर, बागमती प्रदेशले पनि एमालेलाई राष्ट्रिय सभामा एक जना पनि सदस्य दिन सकेन। दुई सिटका लागि भएको निर्वाचनमा एमालेले दुवै सिट गुमायो।
सत्ता-गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद पौडेल र समाजवादीका गोमादेवी तिमिल्सिनाले एमालेका उम्मेदवारलाई पराजित गरे। यो प्रदेशमा पनि एमाले फुटको असर राम्रै देखियो।
गण्डकी प्रदेशमा पनि एमालेले तीनमा तीनै सिट गुमाउनुपर्यो। यो प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त तथा माओवादी केन्द्रका सुरेश आले मगर र भुवनबहादुर सुनार निर्वाचित भएका छन्।
पार्टी फुट्नुअघि निकै बलियो मानिएको एमालेले लुम्बिनी प्रदेशमा पनि आफ्नो साख जोगाउन सकेन ।
एमाले तीनै सिटमा पराजित हुँदा गठबन्धनका उम्मेदवार कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भए।
कर्णाली प्रदेशमा पनि सत्तारुढ गठबन्धनले क्लिन स्विप गरेको छ। यो प्रदेशमा कांग्रेसकी दुर्गा गुरुङ, एकीकृत समाजवादीका उदयबहादुर बोहरा र नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट निर्वाचित भए।
सत्ता-गठबन्धन दलले सुदूरपश्चिम प्रदेशमा पनि एमालेलाई जितको स्वाद चाख्न दिएनन्। यो प्रदेशबाट नेपाली कांग्रेसका नारायण मिश्र, समाजवादीकी गरिमा शाह र माओवादी केन्द्रका जगत पार्कीले जित आफ्नो पोल्टामा पारे। सुदूरपश्चिममा समेत निल हुन पुगेको प्रमुख प्रतिपक्षी दल एमाले १९ सिटका लागि भएको निर्वाचनमा जम्मा एक सिटमा खुम्चिन बाध्य भएको हो।
राष्ट्रिय सभाको निर्वाचनको यो परिणामले एमालेमा फुटको असर देशैभर रहेको देखाएको छ।
माघ १२, २०७८ बुधबार २१:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।