बाढीमा कार हाल्ने चालक बचाउन प्रहरीको बदमासी, चालक पुर्पक्षका लागि थुनामा 

बाढीमा कार हाल्ने चालक बचाउन प्रहरीको बदमासी, चालक पुर्पक्षका लागि थुनामा 

तुलसीपुर : सवारी ज्यान मुद्दामा उच्च अदालत तुलसीपुरले एक जना चालकलाई दश लाख रुपैयाँ धरौटी तोकेको छ। जिल्ला अदालत दाङले तोकेको एक लाख रुपैयाँ धरौटी धेरै भएको भन्दै उच्च अदालत पुगेकालाई चालकले दश लाख रुपैयाँ धरौटी तिर्नु पर्ने भएको हो। 

उच्च अदालतका शाखा अधिकृत गोकर्ण वलीका अनुसार अदालतले तोकेको दश लाख नगद धरौटी वा सो बराबरको जमानत बुझाउन नसकेपछि चालक पुर्पक्षका लागि थुनामा छन्। 

घोराही उपमहानगरपालिका वडा नं १३ का ४३ वर्षीय चालक नरबहादुर पुनले भदौ १६ गते राति घोराही ४ स्थित सिस्ने खोलाको ३–०१०२४ च ४४४० नम्बरको कार बाढीमा हालेर बगाउँदा नेपालगन्जबाट तीजको लागि किनमेल गरेर घर तर्फ फर्किरहेका घोराही १५ की ३३ वर्षीया राधा कुँवर, घोराही १३ की राधाकी दिदी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ४३ वर्षीया विमला केसी र घोराही १३ की ४० वर्षीया रितामाया पुनको मृत्यु भएको थियो। चालक पुन घाइते भएका थिए। 

चालक पुनसँग जिल्ला अदालतले एक लाख धरौटी मागेकोमा उनी धरौटी धेरै भएको भन्दै उच्च अदालत तुलसीपुरमा अपिल गर्न पुगेका थिए। उच्च अदालतले जिल्ला अदालतको फैसला रद्द गर्दै दश लाख रुपैयाँ धरौटी तोकेको हो। 

मुद्दा फाँटका प्रहरी निरीक्षकबाटै बदमासी 

दुर्घटनापछि मुचुल्का प्रतिवेदन तयार पार्दा जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाटका प्रहरीबाटै बदमासी भएको छ। मुद्दा फाटका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाको मिलेमतोमा गलत मुचुल्का तयार गरिएको थियो। आर्थिक प्रलोभनमा परेर बुढाले चालक बचाउन जानिजानी गलत प्रतिवेदन बनाएर जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेलाई झुक्क्याएका थिए। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको निर्देशनमा प्रहरी निरीक्षक बुढाको मिलेमतोमा चालक बचाउन गलत मुचुल्का बनाएको खुलेको हो। कमजोरी गरेको पत्ता लागेपछि प्रहरीले पुन मुचुल्का प्रतिवेदन तयार गरेर अदालत पेस गरेको छ। 

‘गाडीबीचमा पुगेपछि एकाएक बाढी आएको भन्ने शब्द प्रहरीको मुचुल्कामा छ,’ बहस गरेका एक अधिवक्ताले भने, ‘त्यो प्रहरीले गरेको बदमासी थियो।’

जानाजान आर्थिक प्रलोभनमा परेर मिलेमतोमा फितलो प्रतिवेदन बनाएर दोषी उम्काउन मुद्दा फाँटकै प्रहरी निरीक्षक सहित प्रहरी अधिकारीले बदमासी गरेको थाहा पाएपछि जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ती प्रहरी अधिकारीलाई अन्यत्र सरुवा गरेका छन्। 

ती प्रहरी अधिकारीलाई कारबाही स्वरूप सरुवा गरेपछि आएका मुद्दा फाँटमा प्रहरी अधिकारीले तथ्य कुराको रिपोर्टसहित मुचुल्काको प्रतिवेदन अदालतमा पेस गरेका थिए। 

‘खोलामा ठुलो बाढी पहिलैदेखि आइरहेको भन्ने कुराको पुष्टि खोलाको पूर्व पट्टि रोकिएका टिपर यथेष्ट प्रमाण थियो,’ ती प्रहरी अधिकारीले भने, ‘तर, मुद्दा फाँटका प्रहरीको मिलेमतोमा फितलो प्रतिवेदन पठाउनु अपराध थियो।’

खोलामा बाढी आएको देखेर रोकिराखेको टिपर चालकले समेत स्कार्पियो चालक पुनलाई बाढी ठुलो भएको भन्दै गाडी नहाल्न सचेत गराएका थिए। जानीजानी भेलमा असावधानीपूर्वक गाडी हालेको मृतकका आफन्तको बयान र प्रमाणबाट खुलेको ती अधिवक्ताले भने। 

घटनास्थल नजिकै घोराही बजार आउन वैकल्पिक बाटोसमेत थियो। चालक पुनले सावधानीका लागि त्यो बाटो जान छोडेर टिपरसमेत रोकिराखेको भेलमा गाडी हाल्ने काम गरेको ती अधिवक्ताले तर्क गरे। 

‘चालककै लापरबाहीले गर्दा चार जनाको मृत्यु भएको देखियो,’ उनले भने, ‘चालकले परिस्थिति आकलन गर्न नसक्नु ठुलो कमजोरी देखिन्छ।’

माघ १२, २०७८ बुधबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।