नेपालको जनसङ्ख्यामा प्रदेश : कर्णालीमा कम र मधेस प्रदेशमा धेरै
काठमाडौँ : नेपालको कुल जनसङ्ख्या मध्ये प्रदेशगत आधारमा मधेस प्रदेशमा सबै भन्दा धेरै ६१ लाख २६ हजार २८८ रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ। लैङ्गिक अनुपातमा सबैभन्दा धेरै मधेस प्रदेशमा १०१ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ।
वार्षिक जनसङ्ख्या वृद्धिदर ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १.२५ र सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत रहेको विभागले जनाएको छ।
प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम मनाङ जिल्लामा ५ हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ।
मोरङ, रुपन्देही, झापा र सुनसरी धेरै जनसङ्ख्या भएका जिल्लाहरू हुन्। कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका विभागले जनाएको छ।
स्थानीय तह अन्तर्गत सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकामा र सबैभन्दा कम ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालीगुराँस र जिरी नगरपालिका छ।
सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौँ महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसङ्ख्या रहेको छ।
माघ १२, २०७८ बुधबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।