भारतले गणतन्त्र दिवसमा सुनायो नेपालका ७५ वटा विकास परियोजना उद्घाटन गर्ने योजना

काठमाडौँ : काठमाडौँमा रहेको भारतीय दूतावासले भारतको ७३ औँ गणतन्त्र दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर गणतन्त्र दिवस मनाइएको भारतीय दूतावासले जनाएको छ।
दिवसका अवसरमा भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेपाली ६ करोड ३५ लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे।
मानवीय प्रयासका सबै क्षेत्रमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रूपमा कार्यक्रमको आयोजना गरिएको दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
दूतावासका अनुसार आजादीका अमृत महोत्सव अन्तर्गत वर्षै भरी र सन् २०२३ को अगस्ट महिनासम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिनेछन्।
नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरू यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार नेपालभरका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहार स्वरूप प्रदान गर्नेछ।
माघ १२, २०७८ बुधबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।