राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समाते
काठमाडौँ : राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि मतदान सुरु भएको छ। सात वटै प्रदेशमा मतदान भइरहेको छ।
मधेस प्रदेशको जनकपुर मतदान स्थलमा प्रवेश गर्न नदिन प्रदर्शन गरेका सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
बागमती प्रदेशमा प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि मतदान स्थलमा तनाव भएको छ। माओवादी केन्द्रका प्रदेश सांसद हिमाली गोलेले निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको कठालो समातेपछि विवाद भएको छ।
लुम्बिनी प्रदेशको दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भइरहेको छ। लुम्बिनीमा गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक राजेश चुनावी मैदानमा छन्।
एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन्।
सुदूरपश्चिममा रिक्त हुने तीन सदस्य पदका लागि मतदान भइरहेको छ। तीन सदस्यका लागि एमालेबाट डिल्लीराज भट्ट, सन्तोषकुमारी शर्मा थापा र नरेश विक उम्मेदवार छन्। गठबन्धनबाट जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र चुनावी मैदानमा छन्।
प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशसभामा एकीकृत समाजवादीको मत भार सबैभन्दा बढी ६७२ छ भने माओवादी केन्द्रको ६२४, नेपाली काँग्रेसको ५७६ र एमालेको ५२८ मत भार छ।
स्थानीय तहमा १७५ मतदातामध्ये काँग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन्। मतदान सकिए पछि आजै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।
माघ १२, २०७८ बुधबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।