नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौँ : नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।
केन्द्रीय तथ्याङ्क विभागले जनगणना २०७८ को बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यो सङ्ख्या १० वर्ष अगाडी गरिएको गणना भन्दा २६ लाख ९७ हजार ९७६ ले बढी हो। दश वर्षअघि २०६८ सालमा नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।
विभागका अनुसार दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ। कुल जनसङ्ख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन्।
प्रतिशतका आधारमा महिला ५१.०४ र पुरुष ४८.९६ प्रतिशत रहेको छ। २०६८ सालको जनगणनामा पुरुष ४८.५ र महिलाको हिस्सा ५१.५ प्रतिशत थियो।
प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ०५९ रहेको छ। ती परिवारहरू ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको विभागले जनाएको छ।
हालको परिवार सङ्ख्या दश वर्ष अघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ वटा परिवार थप भएको छ।
७७ जिल्ला मध्ये सबै भन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ।
सबै भन्दा कम जनसङ्ख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ। २०७८ को जनगणनामा ३२ वटा जिल्लाको जनसङ्ख्या २०६८ को भन्दा घटेको छ।
माघ १२, २०७८ बुधबार १०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।