पक्राउ गर्ने चेतावनीपछि युएईबाट कन्सल्टेन्सी व्यवसायीले गरे श्रम मन्त्रीलाई फोन

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा युएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ती वा कम्पनीलाई पीडितको तत्काल उद्धार निर्देशन दिएका छन्।
गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुकमा रहेका नेपालीको समस्या अध्ययन गरेर योजना पेस समिति गठन गरेको भोलिपल्ट मन्त्री श्रेष्ठले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्।
मन्त्री श्रेष्ठको निजी सचिवालयले विज्ञप्ति निकालेर युएईमा दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएका छन्।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार युएईमा रहेका कन्सल्टेन्सी व्यवसायी कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको कुरा मन्त्री श्रेष्ठलाई सुनाएका छन्।
उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौँ युवालाई महिनौँ अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी परेको श्रम मन्त्रालयले जनाएको छ।
भिजिट भिसामा युएई पुर्याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सीहरु, ट्राभल्स सञ्चालकहरू, दलाल तथा बिचौलियाहरू संलग्न रहेको पाइएको मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले अपिल निकालेर अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीबारे जानकारी गराइ सहयोग गर्न आग्रह पनि गरेका छन्।
सरकारले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपालीको समस्या समाधानका लागि गृह, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल पनि गठन गरेको छ।
माघ १२, २०७८ बुधबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।