गैँडा मरेको विषयमा छानबिन गर्न बन्यो कार्यदल

वन तथा वातावरण मन्त्रालयले आइतबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको हो।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा गठन भएको कार्यदलको सदस्यमा मन्त्रालयका उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजनल वन कार्यालय चितवनका डिभिजनल अधिकृत पदमराज नेपाल छन्।
कार्यदललाई १० दिनभित्र घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न भनिएको मन्त्रालयले जनाएको छ।
कार्यदललाई गैँडाको मृत्यु हुने गरी भएको लापरबाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने भए सोको यकिन रायसहित सुझाव पेस गर्ने कार्य विवरणसमेत दिइएको मन्त्रालयले जनाएको छ।
माघ ११, २०७८ मंगलबार २१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।