भिजिट भिसामा खाडी मुलुक : योजना पेस गर्न बन्यो समिति

गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक प्रकाशचन्द्र अधिकारी छन्। सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी छन्।
गृहमन्त्री बालकृष्ण खाँणले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसँग गरेको छलफलले समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ।
बैठकमा विदेशमा जाने नेपालीका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीका समस्या समाधानबारे छलफल भएको मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।
बैठकमा गृहमन्त्री खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग भएर कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने कुनै पनि काम हुन नहुने बताए। नेपालको एयरपोर्ट प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए ठुलो मूल्य चुकाउनु पर्ने उनको भनाई थियो।
माघ ११, २०७८ मंगलबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।