क्रिप्टोकरेन्सी कारोबारको ३७ करोड रुपैंया नेपाल भित्र्याउँदा परिवारै फन्दामा

काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्का आफ्नो परिवारका विभिन्न व्यक्तिको नाममा क्रिप्टोकरेन्सी खरिद गरी कारोबार गर्दाको रकम नेपालका विभिन्न बैङ्कमा जम्मा गर्दा उनी अनुसन्धानको दायरामा तानिएका हुन्।
उनले आफ्नो नामसँगै दिदी भगवती, बुबा नरबहादुर खड्का र साथी अनिता धितालको नाममा क्रिप्टो कारोबार गरेका थिए। उनले क्रिप्टोकरेन्सीको रकम विद्युतीय माध्यमबाट नेपालका विभिन्न बैङ्कमा भित्र्याएका थिए।
राजश्व अनुसन्धान विभागका अनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैङ्कको खातामा ९ करोड ७९ लाख रुपैयाँ, लक्ष्मी बैङ्कमा रहेको अनिता धितालको खातामा ५ करोड ७७ लाख, एनआइसी एसिया बैङ्कमा रहेको भगवती खड्काको नाममा २० करोड ४२ लाख, र ग्लोबल आइएमई बैङ्कमा नरबहादुर खड्काको नाममा रहेको खातामा १ करोड ६४ लाख रुपैयाँ भित्रिएको थियो।
विभिन्न मितिमा बैंक खाताहरूमा अस्वाभाविक रूपमा रकम आएपछि सम्बन्धित बैङ्कले नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराएपछि उनीहरूको खातामाथि अनुसन्धान सुरु भएको थियो।
उनीहरूको रकमको स्रोत खोज्दा क्रिप्टोकरेन्सीको कारोबारको आम्दानी भएको खुलेपछि राष्ट्र बैङ्कले यसबारे राजश्व अनुसन्धान विभागलाई जानकारी गराएको थियो। राजश्वको अनुसन्धानमा उनीहरूले मोबाइल एप ईस्क्रिल र विनान्स प्रयोग गरेर अमेरिकी डलरको कारोबार गरेको खुल्यो।
विभागले दिनेश खड्का र उनको परिवारका सदस्यहरूको बयान, विभिन्न बैकका स्टेटमेन्ट, उनीहरूको मोबाइलमा फेला परेको डाटा, कल डिटेलका आधारमा खड्का लगायतकाले सामूहिक रूपमा मिलेमतो गरी मोबाइल एप्स ईस्क्रिल र विनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसुर गरेको र डलरको अनलाइन मार्फत अवैध रूपमा कारोबार गरेको दाबी गरेको छ।
नेपालमा क्रिप्टोकरेन्सी लगायतको प्रयोग गैर कानुनी हो। उनीहरूले गैर कानुनी कारोबार गरेको भन्दै विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार ३७ करोड ६४ लाख ११ हजार रुपैयाँ बिगो कायम गरेर सबैजनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार अभियोग पत्रमा आरोपी खड्कामाथि बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको छ।
माघ ११, २०७८ मंगलबार १९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।