थप संवेदनशील हुन सरकारलाई मानवअधिकार आयोगले गर्यो आग्रह

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरे।
कोभिड–१९ को तेस्रो लहरको सङ्क्रमण नियन्त्रणका लागि सरकारबाट भइरहेको तयारी र प्रयासका सम्बन्धमा आयोगले आज सोमबार सरकारका अधिकारीहरूसँग गरेको छलफलमा अध्यक्ष मगरले विना खोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानवअधिकारको उपभोगमा असर पर्नेतर्फ ध्यान दिन आग्रह गरे।
सिटामोल लगायतका औषधीको अभाव, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापन लगायतका विषयमा थप ध्यान पुर्याउन अध्यक्ष मगरले निर्देशन दिए।
आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार छलफलमा आयोगले कोरोना नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोर बिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँचका विषयमा जानकारी लिएको छ।
यस्तै अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधीको कृत्रिम अभाव हुन नदिन गरिनु पर्ने अनुगमन तथा कानुनी कारबाही, सर्वसाधारणको जानकारीको लागि प्रभावकारी र सही सूचना प्रवाह, तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूको सेल्फक्वारेन्टाइन तथा अनुगमन व्यवस्था, सीमा क्षेत्र तथा स्थानीय तहहरूमा सञ्चालनमा रहेको होल्डिङ सेन्टर, क्वारेनटाइन तथा आइसोलेसन केन्द्रहरूको अवस्थाबारे पनि आयोगले जानकारी लिएको पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।
सार्वजनिक सेवाको लागि खोप कार्ड अनिवार्य गर्ने व्यवस्थाले सेवाग्राहीहरूको मानवअधिकारहरूको उपभोगमा पर्ने असर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रपङ्क्तिमा खटिने कर्मचारीहरूको मनोबल उच्च राख्न उनीहरूले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउने विषयमा आयोगले जानकारी लिएको आयोगले जनाएको छ।
माघ १०, २०७८ सोमबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।