प्रहरीकै मोटरसाइकल लिएर फरार घोराही कारागारका कैदी पक्राउ

प्रहरीकै मोटरसाइकल लिएर फरार घोराही कारागारका कैदी पक्राउ

दाङ : दाङको घोराही कारागारबाट भागेका कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो। 

प्रहरीले सीमावर्ती क्षेत्र भारतबाट परियारलाई पक्राउ गरेको पुष्टि गरेको छ। जिल्ला प्रहरीले कार्यालय दाङले परियारका बारेमा जानकारी दिन सोमबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ। 

परियारलाई कारागारबाट उपचारको बहानामा निकालिएको र प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो। कारागारका नाइके भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो।

जेलर परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागका महानिर्देशकको दबाबमा मुद्दा दर्ता नगरी हाजिरी जमानतमा छाडिएको थियो। 

छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए।

तर उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका थिए। प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो।

कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो। भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जङ्गलमा बिहीबार फेला परेको थियो। नाइके परियार फरार प्रकरणमा प्रहरी जवानसहित एक युवती पुर्पक्षका जेल चलान भइसकेका छन्।  

दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० की २२ वर्षीया समी चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। 

थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवलदार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न अदालतले आदेश गरेको थियो।

सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो।

कारागार विभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका थिए।

माघ १०, २०७८ सोमबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।