व्यक्ति हत्याको धम्की दिने अभिव्यक्तिलाई सामान्य रूपमा लिन मन्त्री यादवले गरिन आग्रह

व्यक्ति हत्याको धम्की दिने अभिव्यक्तिलाई सामान्य रूपमा लिन मन्त्री यादवले गरिन आग्रह

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको प्रष्टीकरण दिएकी छन्। 

मन्त्रिपरिषद्को बैठक बस्नु अगाडि प्रेस विज्ञप्ति निकालेर मन्त्री यादवले आफ्नो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रमण पर्न गएकोमा दुख व्यक्त गरेकी छन्। 

व्यक्ति हत्याको अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न सत्तारुढ कांग्रेस, प्रतिपक्षी एमालेका नेता, नागरिक समाजले सरकारसँग माग गरेका थिए। 

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्नु अगाडि नै मन्त्री यादवले आफ्नो भनाइलाई सामान्य रूपमा लिन पनि भनेकी छन्। उनले आगामी दिनमा सचेत रहने उल्लेख गरेकी छन्। 

मन्त्री यादवले जारी गरेको विज्ञप्तिमा आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभएको लेखेकी छन्। ‘आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्धारा कसै कसैले पूर्वाग्रहपूर्ण ढङ्गले आ आफ्नो तरिकाले अपव्याख्या गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा लेखिएको छ। 

माघ ५ गते रौतहटको गौरमा आयोजित सभामा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतलाई घेराबन्दी गरेर मारिदिने धम्की दिएकी थिइन। 

सम्बन्धित समाचार 

 

माघ १०, २०७८ सोमबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।