५० लाख ठगी मुद्दामा सांग्रिला डेभलपमेन्ट बैंक घोराहीका म्यानेजर पक्राउ

दाङ : ५० लाख ठगीको आरोपमा पक्राउ परेका दाङ, घोराहीका विकाश पुनको मुद्दामा घोराहीकै एक बैंकका म्यानेजर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको सांग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन बिष्टलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर बिष्टलाई समातेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रशाद काफ्लेले बिष्टलाई बिहान कार्यालयबाट पक्राउ गरेर ल्याएको पुष्टि गरे। उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा बिष्टले सघाउ पुर्याएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जानकारी दिए।
ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले बिष्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुनेगरी आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ।
लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिनअघि मात्रै सिआइबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान चलिरहेको छ।
कारसहित राजधानीको सुन्धारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको थियो।
कपिलवस्तु जिल्लाको वाणगंगा- ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो।
घोराही उपमहानगरपालिका- १५ का पुन विरुद्ध कपिलवस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन्। त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन्।
माघ १०, २०७८ सोमबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।