मन्त्रिपरिषद् बैठक बस्दै : तोकिएला स्थानीय तह निर्वाचनको मिति?

मन्त्रिपरिषद् बैठक बस्दै : तोकिएला स्थानीय तह निर्वाचनको मिति?

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनका लागि ऐन संशोधनबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए।

सत्ता गठबन्धन दलले कानुनविद्हरूसँग गरेको छलफलका आधारमा संविधान अनुसार स्थानीय निर्वाचन ऐन संशोधन गर्ने मन्त्रिपरिषद्को एजेन्डा हुने ती मन्त्रीले बताए। ‘मन्त्रिपरिषद्को एजेन्डा बनेर आउन सक्छ,’ती मन्त्रीले भने,‘ठाडै प्रस्ताव पनि हुनसक्छ।’ 

निर्वाचन आयोगले २०७९ साल वैशाख १४ गते एकै चरणमा ७५३ स्थानीय तहको चुनाव गर्ने मिति प्रस्ताव गरेको छ। एकै चरणमा सम्भव नभए वैशाख १४ र २२ मा दुई चरणमा चुनावको मिति आयोगले प्रस्ताव गरे पनि सरकारले मिति तोक्ने निर्णय गरेको छैन। 

आयोगले जेठ ५ गते अगाडि चुनाव गर्न माघको पहिलो हप्ता मिति तोक्नु पर्ने दलहरूलाई जानकारी गराइसकेको छ। 

सत्ता गठबन्धन दलले आइतबार स्थानीय तहका पदाधिकारीको पाँच वर्षे अवधि सकिएको ६ महिना भित्र निर्वाचन गर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न स्थानीय तह निर्वाचन ऐन बाध्यकाकी हुने नहुने विषयमा कानुनविद्हरूसँग छलफल गरेका थिए। 

महान्यायाधिवक्ता खम्बबहादुर खाती, पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसँग सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले छलफल गरेका थिए। 

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगाडी नै निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐनमा रहेको व्यवस्था संशोधन गर्न सुझाव दिएको बताएका थिए।  

माघ १०, २०७८ सोमबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।