राष्ट्र सङ्घीय मिसनको परीक्षामा सहभागी हुन प्रहरीको बदमासी, आरडिटीमा पोजेटिभ आएपछि अर्कैको स्याम्पलमा पिसिआर

राष्ट्र सङ्घीय मिसनको परीक्षामा सहभागी हुन प्रहरीको बदमासी, आरडिटीमा पोजेटिभ आएपछि अर्कैको स्याम्पलमा पिसिआर

काठमाडौँ : संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा सहभागी हुन दिनुपर्ने परीक्षामा सहभागी हुन कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य गरिएपछि केही परीक्षार्थीले मिलेमतोमा अर्कै व्यक्तिको स्याम्पल परीक्षण गराएर परीक्षामा सहभागी हुने तयारी भएको खुलेको छ।

स्याटको परीक्षा लिन राष्ट्र सङ्घले नै प्रतिनिधि खटाउँदै आएको छ। सोही अनुसार सोमबार बिहान परीक्षा हुँदै छ। बिहान १० बजेबाट हुने परीक्षाका लागि एक सय ५० जानको नाम फाइनल भइसकेको छ।

विश्वस्त स्रोतका अनुसार सोही सूचीमा रहेका केही परीक्षार्थीले प्रवेश परीक्षामा सहभागी हुन पहिला आरडिटी परीक्षण गरेर पोजेटिभ देखिएपछि अर्कैलाई स्याम्पल दिन पठाएर परीक्षामा सहभागी हुँदै छन्।

नेपाल प्रहरीको युएन शाखाले प्रिस्याटमा उत्तीर्ण भएकाहरूलाई शनिवार प्रहरी अस्पतालमा परीक्षणका लागि जान भनेको थियो। साढे आठ बजेभित्र स्याम्पल दिइसक्नु पर्ने सूचनामा उल्लेख छ। परिक्षार्थीहरु स्याम्पल दिनजाँदा यूएन शाखाका कर्मचारी अस्पतालमा हुनुपर्नेमा शाखाबाट कोही पनि उपस्थित थिएनन्। उनीहरुले फोनबाटै को गयो को गएन भनेर सोध्ने काम मात्र गरेका थिए।

सोही अनुसार परीक्षार्थीहरू स्याम्पल दिन अस्पताल पुगेका थिए। उनीहरूलाई भिन्न-भिन्न स्थानमा स्याम्पल लिइएको थियो।

स्याम्पल लिइएकामध्ये ८ जना महिला परीक्षार्थी र पुरुषमध्ये २३ जनाको पोजेटिभ रिपोर्ट आएको थियो। नेगेटिभ रिपोर्ट आएका एक सय ५० जनाको नाम स्याट परीक्षार्थीको रूपमा फाइनल भइसकेको छ।

स्रोतका अनुसार फाइनल लिस्टमै आफन्तलाई स्याम्पल दिन लगाएर नेगेटिभ रिपोर्ट निकालेका प्रशिक्षार्थी समेत सहभागी भएका छन्।

'शनिवार बिहान साढे आठ बजेदेखि नौ बजेसम्म इमर्जेन्सीसँगको ल्याबमा स्याम्पल दिनेहरूमध्येबाटै केहीले अर्कैलाई स्याम्पल दिएका छन्,' सिसिटिभी हेर्ने हो भने कसले फर्जी काम गर्यो पुष्टि हुन्छ।'

तर नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले यो सम्भवै नहुने दाबी गरे। उनलाई स्याम्पल लिएको स्थान र समयबारे जानकारी गराउँदा उनले भने' यो सम्भव छैन। हो या हैन हामी बुझ्छौँ।'

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मिसनमा सहभागी हुनेहरूको भाषा लगायतको छनौट परीक्षा लिने टोली नेपाल आइसकेको छ। उनीहरूको सुरक्षाका लागि युएनले परीक्षार्थीको सङ्ख्या र पिसिआर अनिवार्य गरेको हो। तर प्रहरीको युएन शाखाको लापरबाही र स्याम्पल लिने कर्मचारी र परीक्षार्थीको मिलेमतोमा स्याम्पलै अर्काको लिने काम भएको स्रोत बताउँछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले लिने स्याट परीक्षा विवादमा परेको पहिलो पटक हैन। यस अगाडि सशस्त्र प्रहरी हेडक्वाटरभित्रै भएको परीक्षामा प्रश्न पत्र लिक भएको पुष्टि भएपछि पुन परीक्षा भएको थियो।

यस अगाडि प्रहरी प्रधान कार्यालयभित्रै भएको प्रिस्याटको प्रश्न पत्र लिक भएको खुलेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै गठन गरेको थियो। छानबिनका युएन शाखाको कर्मचारीले नै प्रश्न पत्र बेचेको खुलेको थियो। पुन राष्ट्र सङ्घको अनिवार्य म्याण्डेड उलङ्घनको प्रयास भएको छ।

माघ ९, २०७८ आइतबार २३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।