जब युवतीले आफूमाथि बलात्कार हुँदैछ भन्ने सूचना प्रहरीलाई दिइन्

जब युवतीले आफूमाथि बलात्कार हुँदैछ भन्ने सूचना प्रहरीलाई दिइन्

बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३, पिपरामा जबरजस्ती करण गर्नेलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। पीडित युवतीले प्रहरीको कन्ट्रोल रुममा फोन गरेको १० मिनेटमै प्रहरी घटनास्थलमा पुगेर दुई जनालाई रंगेहात पक्रन सफल भएको हो।

पिपरा खेतमा आफूमाथि जबरजस्ती हुन लागेको सूचना पीडित युवतीले प्रहरी कन्ट्रोल रुमको फोन नं. १०० मा फोन गरिन्। प्रहरीले लगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनीलाई जानाकारी गरायो। 

जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले बलात्कार भइरहेको अवस्थामा स्थानीय दुई युवालाई फेला पारेको केसीले बताए।

प्रहरीले घटनास्थलबाट स्थानीय २० वर्षीय गणेश यादव र २६ वर्षीय सुभाष यादवलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बताए।

प्रहरीले पीडित युवतीलाई तत्कालै उद्धार गरी स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाएको थियो भने गणेश घटनास्थलबाटै र शुभाष भाग्दै गर्दा महजिदिया चोकमा पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

माघ ९, २०७८ आइतबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।