निर्वाचनको लागि तयार रहन निर्देशन, आर्थिक क्रियाकलापमा ‍उल्लेख्य सुधार भएको दावी

निर्वाचनको लागि तयार रहन निर्देशन, आर्थिक क्रियाकलापमा ‍उल्लेख्य सुधार भएको दावी
तस्बिर सौजन्य: नेपाल टेलिभिजन

‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ। निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु', देउवाले भने। 

यस्तै उनले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने पनि बताएका छन्। उनले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुर्याउने बताएका छन्। 

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानूनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। 

देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन्। ‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ', उनले भने।

यस्तै उनले सरकारको प्रगति विवरणमा आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए। देउवाले एक करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिए।

पुस मसान्तसम्म एक करोड ५६ लाख ६ हजार २१ जनालाई एउटा मात्रा र एक करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको बताए। 

उनले यो अवधिमा सरकारले चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी दुई करोड ७४ लाख ७५ हजार ९९५ खोप वितरण गरिएको बताए।

माघ ७, २०७८ शुक्रबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।