कुन तहको निर्वाचन कहिले भन्नेमा सत्ताधारी तीन दल तीनतिर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।
बिहीबार गठबन्धन दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक राखिए पनि स्थगित भएको थियो। एकीकृत समाजवादीका अध्यक्ष नेपाल कोरोना सङ्क्रमणमुक्त भएपछि उनी छलफलमा सहभागी भएका हुन्।
बैठकस्रोतका अनुसार बिहीबार स्थगित राजनीतिक समन्वय समितिको बैठक शुक्रबार ४ बजे बालुवाटारमा राख्ने सहमती भएको छ। निर्वाचन आयोगले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै मिति सिफारिस गरे पनि सत्ताधारी दल निर्णयमा पुग्न सकेका छैनन्।
माओवादी र समाजवादीको फरक धारणा
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्थानीय तह र प्रदेशभन्दा पहिले सङ्घीय निर्वाचन गर्नुपर्ने पक्षमा छन्। उनले मङ्गलवारको समन्वय समितिको बैठकमा औपचारिक रूपमै यो धारणा राखेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक कार्यक्रमहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने धारणा राख्दै आएका छन्।
जेठ ५ पछि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पदावधि सकिँदै छ। तर निर्वाचन कानुन र संविधानमा स्थानीय तहको निर्वाचनबारे फरक व्यवस्था छ। कानुनले निर्वाचितको पदावधि सकिनु अगाडि नै निर्वाचन गर्नुपर्छ भनेको छ भने संविधानमा म्याद सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भन्छ।
तर संविधानसँग बाझिने कानुन स्वतः निष्क्रिय हुने भएकाले सरकारले स्थानीय तहको म्याद सकिएको ६ महिनाभित्रमा निर्वाचन गराउन सक्ने कानुनी आधार भने पाउन सक्छ।
तर प्रचण्ड र नेपालको प्रस्ताव झैँ पहिला सङ्घीय संसद्को निर्वाचन या तीनै तहको एकै पटक निर्वाचन गर्न सहज छैन। यसबारे सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
बिहीबार कांग्रेस महामन्त्री गगन थापाले तोकिएकै मितिभित्र निर्वाचन हुनुपर्ने र कांग्रेस निर्वाचनको मिति सार्ने पक्षमा नभएको ट्विट गरेका थिए।
प्रमुख प्रतिपक्षी दल एमाले पहिला स्थानीय तहको निर्वाचनको पक्षमा छ। उ पहिला स्थानीय तह अनि प्रदेश र सङ्घको निर्वाचन गर्नुपर्ने पक्षमा छ।
माघ ६, २०७८ बिहीबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।