मलेखुबाट आठ किलो गाँजासहित दुई जना पक्राउ

धादिङः जिल्लाको गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। प्रहरी चौकी मलेखुबाट खटेको टोलीले आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन्। तामाङले बोकेको झोलाबाट चार किलोग्राम २०० ग्राम र परियारले बोकेको झोलाबाट तीन किलो ९३० ग्राम गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।
पृथ्वी राजमार्गमा काठमाडौंबाट मुग्लिनतर्फ जाने गाडी कुरेर बसिरहेका उनीहरू प्रहरी टोली देखेर शङ्कास्पद व्यवहार देखाउन थालेपछि चेकजाँच गरिएको थियो। उनीहरूमाथि प्रतिबन्धित लागूऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ १, २०७८ शनिबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।