साझाको नीतिसँग असहमत महिला समूहले बनाए नयाँ सङ्गठन, संयोजकमा विद्या

साझाको नीतिसँग असहमत महिला समूहले बनाए नयाँ सङ्गठन, संयोजकमा विद्या

काठमाडौं : वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले वैकल्पिक महिला सङ्गठन नामक नयाँ राजनीतिक सङ्गठन घोषणा गरेका छन्।

विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल-बाटो’ पक्षका नेताहरूले महिला सम्बन्धी नयाँ  सङ्गठन घोषणा गरेका हुन्।

महिला सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन भएकी छिन्। श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा  सक्रिय छिन्।

२५ सदस्यीय केन्द्रीय समितिमा पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ।  पहिलो चरणको केन्द्रीय समितिमा संयोजक महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ। अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल,  प्रेक्षा पण्डित, आशा ठाकुर, समा सिं महर्जन, आरती कुसवा,  निर्जला तामाङ, रबिना थापा, प्रियङ्का मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनीता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन्। बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुने बताइएको छ।

महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला सङ्गठनको मूल ध्येय हुने उनीहरूको दाबी छ।

यस अगाडि युवाहरूले वैकल्पिक युवा सङ्गठन घोषणा गरिसकेका छन्। यी सङ्गठनमा विवेकशील साझा पार्टीका सदस्यहरुनै संलग्न छन्। एकीकरणमा साझामा नगएका विवेकशील समूहले समेत नेपाल विवेकशील पार्टी दर्ता गरिसके पनि मिलन पाण्डे लगायतकाहरु नयाँ सङ्गठनको तयारीमा लागेको देखिन्छ। पाण्डेलाई रवीन्द्र मिश्रले कारबाही गरेर साधारण सदस्यबाट समेत हटाइसकेका छन्।

माघ १, २०७८ शनिबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।