सीमा विवादबारे बोल्यो भारतीय दूतावास : आयोगबाट वार्ता अगाडि बढाउन आग्रह

सीमा विवादबारे बोल्यो भारतीय दूतावास : आयोगबाट वार्ता अगाडि बढाउन आग्रह

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणसँगै नेपाल-भारत सीमा विवाद बल्झिएपछि नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेको छ।

उसले विज्ञप्तिमार्फत समस्याको सम्बोधन गर्न सञ्चार र संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानल नै सबैभन्दा सान्दर्भिक हुने उल्लेख गरेको छ।

'सीमाका सवाललाई हामी हाम्रो निकट र मैत्रीपूर्ण दुई पक्षीय सम्बन्धको भावनामा टेकेर सधैँ सम्बोधन गर्नसक्छौं,' उसले भनेको छ।

नेपाल र भारतबिचको सीमाका विषयमा भारत सरकारको भूमिका सधैँ स्पष्ट र स्थिर रहिआएको वक्तव्यमा दाबी गरिएको छ। त्यस विषयमा भारतले नेपाल सरकारलाई जानकारी दिएको वक्तव्यमा दाबी छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटेर भारतले नक्सा जारी गरेसँगै नेपाल-भारत सीमा विवाद चर्किएको थियो। नेपालले पनि नयाँ नक्सा जारी गर्यो। नेपालले सीमा विवादबारे पठाएको कूटनीतिक नोटको भारतले जवाफ दिएको छैन।

मोदीले लिपुलेकमा ग्रामीण सडक बिस्तार भइरहेको भन्दै भाषण गरेपछि पुन विवाद चर्कियो। प्रमुख दल मोदीको सम्बोधनको विपक्षमा उभिएका छन्। तर नेपाली भूमिमा रहेका भारतीय फौज फिर्तामा भने कुनै उपलब्धि हुन सकेको छैन।

माघ १, २०७८ शनिबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।