पत्रकार महासङ्घमा विवादित मिडिया अवार्ड : छानबिनको माग पदाधिकारीले गरे अस्वीकार 

पत्रकार महासङ्घमा विवादित मिडिया अवार्ड : छानबिनको माग पदाधिकारीले गरे अस्वीकार 

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले मिडिया अवार्ड लगायतका विषयमा भएको भनिएको अनियमितताबारे मौन बसेको छ।

कपिलवस्तुको तिलौराकोटमा बसेको महासङ्घको चौथो पूर्ण बैठकले मिडिया अवार्डलगायतका विषयहरूमा गम्भीरतापूर्वक समीक्षा गरेको जनाएको छ। 

बैठकपछि महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा विवादित विषयहरूबाट महासङ्घलाई जोगाएर अगाडि बढ्ने सङ्कल्प गरेको लेखिएको छ।

बैठकमा महासङ्घका सदस्यहरूले मिडिया अवार्डमा अध्यक्षसहितका पदाधिकारीको संलग्नताबारे छानबिन गर्न माग गरेका थिए।

व्यापारको उद्देश्यले गरिएको मिडिया अवार्डमा महासङ्घका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालको भूमिका शङ्कास्पद रहेको भन्दै सदस्यहरूले माग गरेका थिए। 

तर, बैठकपछि जारी गरिएको विज्ञप्तिमा छानबिनको विषय नै उल्लेख गरिएको छैन। 

पत्रकार महासङ्घका पदाधिकारीमाथि अनियमितताको आरोप

महासङ्घबाट राजीनामा दिएर सक्रिय राजनीतिमा जाने घोषणा गरेकी उपाध्यक्ष बाला अधिकारी महासङ्घमा फर्किएकोमा सदस्यले विरोध गरेपछि बैठकले सदस्यता शुद्धीकरणका लागि सङ्गठन विभागमार्फत तत्काल काम प्रारम्भ गर्ने निर्णय गरेको छ। 

केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने भन्ने विधानको व्यवस्था कार्यान्वयनका लागि बैठकले प्रतिबद्धता व्यक्त गरेको महासचिव पुरीले बैठकपछि जारी गरेको विज्ञप्तिमा लेखिएको छ। 

 

माघ १, २०७८ शनिबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।