पत्रकार महासङ्घका पदाधिकारीमाथि अनियमितताको आरोप

काठमाडौँ : नेपाल पत्रकार महासङ्घका सदस्यहरूले मिडिया अवार्डमा अध्यक्षसहितका पदाधिकारीको संलग्नताबारे छानबिन गर्न माग गरेका छन्।
कपिलवस्तुको तिलौराकोटमा भइरहेको केन्द्रीय समितिको बैठकमा व्यापारको उद्देश्यले गरिएको मिडिया अवार्डमा महासङ्घका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालको भूमिका शङ्कास्पद रहेको भन्दै छानबिनको माग गरेका हुन्।
मिडिया अवार्डका लागि महासँघको नाम दुरुपयोग गर्दै भारतीय र अमेरिकी दूतावाससँग समेत पैसा मागेको, केही स्थानमा मिडिया अवार्डका लागि पैसा खोज्न अध्यक्ष आफै पुगेको, महासचिवको डिजिटल हस्ताक्षर दुरुपयोग भएको, महासचिवले निकाल्ने विज्ञप्ति सचिवले निकालेको भन्दै यी सबै प्रकरणबारे स्वतन्त्र छानबिन समितिबाट छानबिन गराउन उनीहरूले बैठकमा माग गरेका थिए।
महासङ्घबाट राजीनामा दिएर सक्रिय राजनीतिमा जाने घोषणा गरेकी उपाध्यक्ष बाला अघिकारी महासङ्घमा फर्किएकोमा समेत उनीहरूले विरोध गरेका छन्। उनलाई राजीनामा दिन वा बर्खास्त गर्न माग गरेका छन्। तर नेपाल प्रेस युनियनबाट महासङ्घमा गएकाहरूले राजनीति गर्छु भने पनि उम्मेदवार नबनेकाले महासङ्घमा आउनु जायज भन्दै अधिकारीको समर्थन गरेका छन्। प्रेस सेन्टर र एकीकृत समाजवादीबाट महासङ्घमा गएकाहरूले भने अधिकारीको राजीनामा मागेका छन्।
केन्द्रीय सदस्यहरूले महासङ्घले सामान किन्ने सप्लायर्स छनौट लगायतको खरिद प्रक्रियामा अनियमितता भएको समेत दाबी गरेका छन्।
केन्द्रीय समितिको बैठकमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष तीनै जनाले मिडिया अवार्डमा गल्ती भएको तर नियतवश नभई अनजानमा गल्ती भएको बताएको बैठक स्रोतले बतायो। तीनै जनाले गल्ती भएको भने पनि छानबिनका लागि तयार देखिएका छैनन्।
पुष ३०, २०७८ शुक्रबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।