लिपुलेकमा भारतले सडक विस्तार गर्दा सरकार मौन रहनु आपत्तिजनक: विवेकशील साझा

काठमाडौंः विवेकशील साझा पार्टीले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गर्दा नेपाल सरकार मौन बस्नु आपत्तिजनक भएको बताएको छ। पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
'कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ', विज्ञप्तिमा भनिएको छ।
भारतले अन्तर्राष्ट्रिय कानूनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको र नेपाल सरकारले समयमै प्रतिवाद गर्न नसके मुलुकले दूरगामी असर भोग्नुपर्ने विज्ञप्तिमा बताइएको छ।
पुष ३०, २०७८ शुक्रबार १३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।