सरकारको प्राथमिकता देशभित्रै रोजगारी सृजना गर्नु हो: श्रममन्त्री श्रेष्ठ

सरकारको प्राथमिकता देशभित्रै रोजगारी सृजना गर्नु हो: श्रममन्त्री श्रेष्ठ

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन्।

श्रेष्ठले उद्यमशीलताको संस्कृती विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको माग बमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए। यस क्षेत्रका व्यवहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो। 

सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताए।

स्थानीय स्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरूको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीय तहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरूको पहिचान गर्न आवश्यक रहेको उनले बताए।

पुष ३०, २०७८ शुक्रबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।