वीरगञ्जमा रिक्सा चालकको हत्या प्रकरण: सँगै डेरामा बस्ने साथीसहित ५ पक्राउ

वीरगञ्जमा रिक्सा चालकको हत्या प्रकरण: सँगै डेरामा बस्ने साथीसहित ५ पक्राउ

पर्साः भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँ वीरगञ्जमा रिक्सा चलाउँदै आएका थिए। यही पुस २२ गते वीरगञ्ज महानगरपालिका–२३ इटियाहीमा उनको शव फेला पर्यो।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान थाल्यो। भारतको बिहार राज्य वैशाली घर भएर हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको खुल्न आयो। आपसी झगडामा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले निष्कर्ष निकाल्यो।

र मियाँको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गर्यो। बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए। 

उनीहरूबीच केही दिनअघि झगडा भएको र मण्डलले मियाँको हत्या गरी फालिदिने धम्की पनि दिएका थिए। मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न ५० हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यता मियाँ हत्यामै संलग्न एक जना भारतीय नागरिक भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पुष ३०, २०७८ शुक्रबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।