ट्राफिक नियम उल्लङ्घन गर्नेले मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सक्ने

ट्राफिक महाशाखाले बुधबार देखिनै मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको हो।
ग्लोबल आईएमई बैङ्कमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने व्यवस्था रहेकोमा पछिल्लो समय विभिन्न ६४ वटा बैङ्कको मोबाइल बैङ्किङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा रहेका महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभुपेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि ‘प्रभुपेको किअस्क मेसिन’ उद्घाटन गरेका छन्।
कार्यक्रममा एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए।
कोरोना सङ्क्रमणको समयमा ट्राफिक कार्यालय र बैङ्कमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न समेत यो मेसिनले महत्त्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एव एसपी सञ्जीव शर्मा दासले बताए।
पुष २८, २०७८ बुधबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।