एमाले सुर्खेतको अध्यक्षमा बिसी र जाजरकोटमा शाहीको प्यानल विजयी

सुर्खेत : नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसीको प्यानल विजयी भएको छ। आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचन भएको थियो। निवर्तमान एमाले सुर्खेतका उपाध्यक्ष रहेका बिसी ३६८ मत ल्याएर विजयी भएका हुन्।
बिसीका प्रत्याशी डन्डीप्रसाद शर्माले २६७ मत ल्याए। यस्तै उपाध्यक्षमा बिसी प्यानलकै कुलमणि देवकोटा ३९४ मत ल्याएर विजयी भएका छन्
यस्तै सचिवमा कवीन्द्रकुमार केसी ३९० मत ल्याएर विजयी भएका छन्। दुई पद रहेको उप–सचिवमा घनश्याम पाण्डेले ३९१ र बलबहादुर नेपालीले ३६९ मत ल्याएर विजयी भए।
यस्तै एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही विजयी भएका छन्। निवर्तमान अध्यक्ष करवीर शाहीलाई सात भोटले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। खिमबहादुरले २१७ मत ल्याउँदा करवीरले २१० मत पाए।
उपाध्यक्षमा गोपाल बहादुर बडाला, सचिवमा प्रेस चौतारी नेपालका उपाध्यक्ष वीरबहादुर गिरी, उपसचिवमा गोपाल नेपाली र नरबहादुर बस्नेत विजयी भएका छन्।
नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनमा मतदाता सङ्ख्या भन्दा ३१ मत धेरै खसेपछि रद्द भएको निर्वाचन फेरि गर्ने गरी तयारी थालिएको छ।
एमाले दैलेखको अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको उम्मेदवारी थियो। उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका थिए। यस्तै सचिवमा रुद्र शाही र तिलकप्रसाद रिजालको उम्मेदवारी थियो ।
डोल्पा, सल्यान , जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ। डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दलाल देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।
कालिकोटमा भने सर्वसम्मत नेतृत्व चयनका लागि छलफल जारी छ। मुगुमा मंगलबार अधिवेशनको उद्घाटन गरिएको छ। हुम्लामा माघ २३ गते जिल्ला अधिवेशन गरिने एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ।
पुष २८, २०७८ बुधबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।