भारतीय पक्षको बलमिच्याई रोक्न लगाउन सरकारसँग एमालेले गर्‍यो माग  

भारतीय पक्षको बलमिच्याई रोक्न लगाउन सरकारसँग एमालेले गर्‍यो माग  

काठमाडौँ : नेकपा एमालेले नेपाली भूभागमा भारतीय पक्षबाट भएको सडक सहितका संरचना निर्माणको काम रोक्न लगाउन सरकारसँग माग गरेको छ।

एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले विज्ञप्ति निकालेर भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबै खाले बलमिच्याई रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेका हुन्। 

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने  यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेको माग छ।

विज्ञप्तिमा लेखिएको छ,‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्य स्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने एमालेको अविचलित मान्यता छ।’ 

एमालेले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौँ प्रश्न जन्माएको उल्लेख गरेको छ। 

नेपाल भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेको भट्टराईले निकालेको विज्ञप्तिमा लेखिएको छ।

पुष २७, २०७८ मंगलबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।