प्रशासन कार्यालय काठमाडौँले रोक्यो मेला, भेला तथा महोत्सव  

प्रशासन कार्यालय काठमाडौँले रोक्यो मेला, भेला तथा महोत्सव  

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम गर्न प्रशासनले रोक लगाएको छ। 

प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेर घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न भनेको छ। 

माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश दिने प्रशासनको सूचनामा लेखिएको छ। 

प्रशासनको आदेश अनुसार जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निशुल्क  एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने र नियमित परीक्षण गराउनु पर्नेछ।  

सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई अनिवार्य रूपमा एक हप्ताभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्न प्रशासनले भनेको छ। 

शिक्षा मन्त्रालयको सूचना अनुसार आज पुस २७ देखि माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने र पूर्व निर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न भनिएको छ।

पुष २७, २०७८ मंगलबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।