नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएन)हरूलाई नेपालमै डलर खाता खोल्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली सङ्घद्वारा सोमबार आयोजित एक वेभमिनारमा उनले यस्तो बताएका हुन्।
मन्त्री शर्माले डलर खाता नेपालमा खोल्दा देशभित्र लगानी र रोजगारी बढ्ने बताए। उनले नेपालको समृद्धिमा योगदान गर्न र आफू पनि लाभान्वित हुन एनआरएनहरूलाई आग्रह गरेका हुन्। उनले भने, “तपाईंहरूले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईंहरूलाई पनि फाइदा पुग्ने छ।”
यस्तै सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरूले नेपालमा विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको र यो प्रावधानले विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने माध्यम बन्ने पनि बताए।
यता गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घ स्थापनाकालदेखि नै नेपालको समृद्धि र विकासका लागि साझेदारको रूपमा काम गर्दै आएको बताए।
पुष २७, २०७८ मंगलबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।