आज पृथ्वी जयन्ती: ज्ञानेन्द्रले सिंहदरबारअगाडिको शालिकमा माल्यार्पण गर्ने

आज पृथ्वी जयन्ती: ज्ञानेन्द्रले सिंहदरबारअगाडिको शालिकमा माल्यार्पण गर्ने

काठमाडौंः आज पुस २७ अर्थात् पृथ्वीनारायण शाहको जन्मजयन्ती। आज देशैभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदैछ।

विभिन्न स-साना राज्यलाई एकीकृत गर्दै विशाल नेपालको निर्माण गरेका पृथ्वीनारायण शाह आजकै दिन विसं १७७९ मा गोरखामा जन्मिएका थिए। नेपालमा झण्डै अढाइ सय वर्ष राज गरेको शाहवंशको नायकको रूपमा पृथ्वीनारायण शाहलाई लिइन्छ। 

यस्तै आज विभिन्न राजावादी संघ संस्थाहरूले एकता दिवस पनि मनाउँदै छन्। काठमाडौं, भक्तपुर, पाटन, कीर्तिपुर, मकवानपुरसहित विभिन्न राज्यलाई एकीकृत गर्दै सिंगो नेपाल निर्माण गरेको भन्दै आज एकता दिवस मनाइने भएको हो।

आज पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारअगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण पनि गर्ने भएका छन्। आज दिउँसो साढे १२ बजे उनले माल्यार्पण गर्ने भएका हुन्। 

पृथ्वीनारायण शाहको मृत्यु विसं १८३१ माघ १ गते नुवाकोटको देवघाटमा भएको थियो।

पुष २७, २०७८ मंगलबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।