गणतन्त्रविरुद्ध ज्ञानेन्द्रले भने : त्यस्तो तन्त्रमा समय बरबाद गर्नु हुँदैन

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीको संज्ञा दिएका छन्।
पृथ्वीनारायण शाहको ३०० औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गरेका छन्।
‘जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’ज्ञानेन्द्रले निकालेको सन्देशमा लेखिएको छ,‘प्रणाली केवल साधन हुन्।साधन परिवर्तनलाई नै महान उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्।’
ज्ञानेन्द्रले सबै भन्दा उत्तम दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्व प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको उल्लेख गरेका छन्। उनले त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु नहुने शुभकामना सन्देशमा लेखेका छन्।
ज्ञानेन्द्रले देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको उल्लेख गरेका छन्। ‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्बेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिवेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौँ,’ज्ञानेन्द्रले लेखेका छन्,‘देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’
उनले गौरवमय अस्तित्वलाई जोगाइ राख्न हिमाल, पहाड र तराइका सबैलाई एक बन्न आग्रह पनि गरेका छन्।
पुष २६, २०७८ सोमबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।