विद्यालय बन्द गरेर विद्यार्थीलाई कोरोना खोप : मेला, भेला र महोत्सव नगर्न गृहको निर्देशन

काठमाडौँ : शिक्षा मन्त्रालयले भोलि मंगलबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
विद्यालय बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले सूचना निकालेर जनाएको छ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ। गृह मन्त्रालयले सूचना निकालेर माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ।
२५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बैठकले गरेका सिफारिसहरू मध्ये गृहसँग सम्बन्धित सिफारिस कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो।
नेपालमा सोमबार मात्रै थप १ हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर ११ हजार ४२९ नमुना परीक्षण गर्दा १ हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २५५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने थप दुई जनाको मृत्यु भएको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ८५५ जना रहेको मन्त्रालयले जनाएको छ।
पुष २६, २०७८ सोमबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।