बुटवल उपमहानगरपालिकाअगाडि नारा: ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’

कोरिडोर शिलान्यासकै क्रममा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले घर टहराहरू व्यवस्थापन गर्ने बताएका थिए। यद्यपि, व्यवस्थापनबिनै निर्माण थालेपछि पीडितहरूले विरोध जनाएका हुन्।
पीडितहरूले उपमहानगरपालिकाको गेटअगाडि ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ भन्दै नारा लगाएका थिए।
१० मंसिर ०७७ मा तत्कालीन अर्थमन्त्री एवम् रूपन्देही क्षेत्र नं. २का सांसद विष्णु पौडेलले उक्त कोरिडोरको शिलान्यास गरेका थिए। तर घर जग्गा व्यवस्थापनको विवादले निकै तामझामका साथ सुरु गरिएको आयोजना अहिले अलपत्र पर्ने अवस्थामा पुगेको छ।
तिनाउ-दानव कोरिडोर पीडित संघर्ष समितिले कोरिडोर क्षेत्रभित्र पर्ने घरधनीलाई व्यवस्थापन गर्न भन्दै आन्दोलन जारी राखेको छ। यता आफ्नो जग्गा मिचेको भन्दै 'नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड' र स्थानीय टेकबहादुर श्रेष्ठले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेका छन्।
श्रेष्ठले दायर गरेको मुद्दामा अदालतले पनि 'स्टे अर्डर' जारी गरिसकेको छ। त्यस यता निर्माणको काम ठप्प छ।
संघर्ष समितिका अध्यक्ष आत्मराम रानाका अनुसार संघर्ष समितिले १८ मंसिर ०७७ मा बस्ती व्यवस्थापनका लागि डिभिजन सडक कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र ४ वटा वडा कार्यालयमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएको छैन।
यसबारे उकेरामा प्रकाशित अघिल्लो समाचार
पुष २५, २०७८ आइतबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।