भ्याट नबुझाउनेको सूचीमा कांग्रेसको केन्द्रीय नेतादेखि मिडियासम्म; राजश्वले निकाल्यो २३५ जनाको नाम

भ्याट नबुझाउनेको सूचीमा कांग्रेसको केन्द्रीय नेतादेखि मिडियासम्म; राजश्वले निकाल्यो २३५ जनाको नाम

करदाताको कारोबारस्थल पत्ता लागेका ठाउँमै विवरण सङ्कलनका लागि गएको, हुलाकमार्फत पत्राचार गरेको र बारम्बार टेलिफोन सम्पर्क गर्दा पनि कर तिर्न नआएको भन्दै राजश्वका विभिन्न कार्यालयले सूचना निकालेको हो। सूचनामा सत्ताधारी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगै सञ्चार क्षेत्रको नाम समेत छ।

सूचीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लामा कन्स्ट्रक्सन कम्पनी प्रालीका अध्यक्ष जिपछिरिङ लामाको लामा बिल्डर्स/बाम्ती जेभीले ५ करोड ९० लाख ८५ हजार, लामा बिल्डर्स/बिरुवा जेभीले १ करोड ३३ लाख ९६ हजार, लामा बिल्डर्स/कञ्चनजङ्घा जेभीले १ करोड ३१ लख ५२ हजार रुपैयाँ भ्याट तिरेको छैन।

कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्ट्रक्सनसहितका साझेदारी रहेको कम्पनीहरूले समेत भ्याट तिरेका छैनन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाको कम्पनी हिम्दुङ एन्ड थोकरले धुकछु र कान्छारामसँग गरेको साझेदारी कामको ५६ लाख ९० हजार भ्याट बुझाएको छैन।

सनलाईट मल्टिपर्पोज प्रालीले १३ करोड १ लाख ५४ हजार रुपैयाँ भ्याट तिर्न बाँकी छ। त्यस्तै, बिरुवा कन्स्ट्रक्सन, शर्मा एन्ड कम्पनी कान्छाराम निर्माण सेवा, श्यामसुन्दर निर्माण सेवा, लोकप्रिय निर्माण सेवा, डाँफे कन्स्ट्रक्सन, लामा/कान्छाराम जेभीले ५२ लाख ३६ हजार ४५२ रुपैयाँ कर तिरेका छैनन्।

निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको पप्पु कन्स्ट्रक्सनको पप्पु एलाइट जेभीको २३ लाख २० हजार ३३९ र पप्पु–बाम्ती जेभीको २२ लाख ८७ हजार रुपैयाँ भ्याट बुझाएको छैन। अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालीका सञ्चालक राकेश कुमार अग्रवालले ८ करोड ६२ लाख ९१ हजार भ्याट तिरेका छैनन्।

उद्योगी पनि कम छैनन्

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले डाँफे कन्ट्रक्सनसँग मिलेर गरेको साझेदारीबाट ३७ लाख २८ हजार अनि मिचीको एन्ड कम्पनीसँगको साझेदारीबाट १९ लाख ३८ हजार भ्याट तिरेको छैन।

व्यवसायी राकेशकुमार अग्रवालले समेत भ्याट बुझाएका छैनन्। यसै गरी नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्राले समेत भ्याट बुझाएका छैनन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष शकुन्तलाल हिराचनको कम्पनी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालीले पनि १ करोड ४० लाख ९९ हजार भ्याट बुझाएको छैन। हिराचनको कम्पनीले गरेको साझेदारीका परियोजनामा युनाइटेड र हिस्टोरिक कन्स्ट्रक्स जेभीले २ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ।

मिडिया पनि

भ्याट नबुझाउनेमा मिडिया हाउसहरू समेत देखिएका छन्। सूची अनुसार एभिन्युज टेलिभिजन प्रालीले ५ करोड ३५ लाख १० हजार भ्याट बुझाउन बाँकी छ। यसका प्रमुख भाष्करराज कर्णिकार हुन्। बिजमाण्डु प्रालीले समेत ४३ लाख भ्याट बुझाउन बाँकी छ। यसका प्रमुख ओम थापा हुन्। सृजना इन्टरनेशनल मिडिया प्रालीले ६० लाख भ्याट तिरेको छैन। यसका प्रमुख बोधराज त्रिपाठी हुन्।

एबिसी मिडिया प्रालीले ११ लाख ९२ हजार भ्याट तिर्न बाँकी छ। यसका प्रमुख शुभशंकर कँडेल हुन्। स्पेसटाइम नेटवर्क प्रालीका सञ्चालक दीपक मल्होत्राको नाम समेत सूचीमा छ। एसिया प्यासिफिक कम्युनिकेसन एसोसिएट्स नेपाल प्राली र न्युज मिडिया प्रालीका सञ्चालक प्रभाशंकर श्रीवास्तव, कम्युनिकेट मिडिया प्रालीको नाम समेत भ्याट तिर्न अटेर गर्नेको सूचीमा छ। मिडिया ब्युरो पार्ली, आरोग्य मिडिया पार्ली, एके मिडिया हाउसको नाम समेत सूचीमा छ।

पुष २५, २०७८ आइतबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।