मौसम सफा भए भैरहवा विमानस्थलमा हप्ता दिनमै परीक्षण उडान: मन्त्री आले

बुटवलः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताएका छन्। शनिबार विमानस्थल निरीक्षण गर्दै आलेले भारतसँग हवाई रूट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको बताउँदै जतिसक्दो विमानस्थल चाँडो सञ्चालनमा ल्याउने बताएका हुन्।
केही समयअघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रूट अनुमति दिन आग्रह गरेको बताए थिए। मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण 'क्यालिब्रेसन फ्लाइट'मा ढिलाइ भएको बताए। मौसम सफा भएको हप्ता दिनमै क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी गरिएको पनि उनले जानकारी दिए।
मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमिन हुँदा समेत एउटा मात्रै रन–वे किन बनाएको भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न पनि गरेका थिए।
गौतमबुुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आईसीबी वान अर्थात भौतिक निर्माणका काम थोरै बाँकी रहे पनि आईसीबी टुु अन्तर्गतका उपकरण जडानको काम सकिएको बताए। उनले क्यालिब्रेसन फ्लाइटका लागि विमानस्थल तयार भएको बताए।
आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भएको छ। आयोजनाका अनुसार केही निर्माण र फिनिसिङका काम बाँकी छन्।
पुष २५, २०७८ आइतबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।