एमाले कैलालीमा जुटेन सहमति, निर्वाचन प्रक्रिया सुरु

एमाले कैलालीमा जुटेन सहमति, निर्वाचन प्रक्रिया सुरु

एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट र कैलाली इन्चार्ज नारदमुनि रानाले मनाउने प्रयास गरे पनि सहमतिमा नेतृत्त्व चयन नहुने भएको छ। अध्यक्षमा आकांक्षा राखेका जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेय पछाडि हटे पनि थापा र चन्दको दावी यथावतै छ। 

सहमतिबाट नेतृत्त्व चयनमा सकस देखिएपछि एमाले निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ। राती ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले बताए। 

उनका अनुसार आइतबार बिहान ८ः३० देखि दिउँसो १ः३० बजेसम्म मतदान र दिउँसो ३ बजेबाट मतगणना हुने कार्यतालिका छ। भोलि नै निर्वाचन परिणाम सार्वजनिक गरिने बताइएको छ। 

के भन्छन् उम्मेदवार? 
अध्यक्षका उम्मेदवार चन्द र थापा दुवैले आ–आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन्। ‘विगतमा आन्तरिक किचलोका कारण काम गर्न पाइएन। पार्टीलाई बलियो बनाउन मेरो नेतृत्त्व आवश्यक छ। त्यसैको लागि यही नेतृत्त्वलाई निरन्तरता दिन मेरो उम्मेदवारी हो’, वर्तमान अध्यक्ष समेत रहेका रतन थापाले भने।

अध्यक्षका अर्का आकांक्षी रणबहादुर चन्दले पार्टीलाई मजबुत पार्न नेतृत्त्व परिवर्तन आवश्यक रहेको बताए। 'हामी निर्वाचनको मुखमा छौँ। अहिलेको नेतृत्त्व सक्षम छैन। निर्वाचनपछि पनि एमालेलाई पहिलो पार्टी बनाउन मैले जिम्मेवारी पाउन जरुरी छ’, चन्दले भने।

पुष २४, २०७८ शनिबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।