बतासले लिएको पशुपति धर्मशालाको ठेक्काबारे पनि छानबिन हुने, कोषाध्यक्षको संयोजकत्वमा समिति

पशुपति क्षेत्र विकास कोषले धार्मिक स्थलमा आउने भक्तजनका लागि बनाएको धर्मशाला होटेलको रूपमा चलाउन बतासलाई दिएको थियो।
पर्यटन मन्त्रालयको निर्देशनमा कोषमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्रमा अध्ययन प्रतिवेदन पेस गर्न भनिएको छ।
तिलगंगामा रहेको पशुपतिमैत्री धर्मशालामा बतासले ‘होटेल आनन्द’ सँगै बतास फाउन्डेसनको कार्यालय र भिन्टेज गाडीको सोरुम राखेको छ। उसले धर्मशाला परिसरमा आफूखुसी नयाँ संरचना बनाएको छ।
यस अगाडि नारायणहिटी परिसरभित्र क्याफेटेरिया चलाउने बहानामा सेटिङमा ठेक्का पाएको बतासले अवैध संरचना बनाउँदै रेस्टुरेन्ट चलाउने तयारी गरेको खुलासापछि निर्माण रोक्दै मन्त्रालयले छानबिन थालेको छ। छानबिन थालिएसँगै अवैध संरचना भत्काउन थालिएको छ।
नारायणहिटीभित्र ठेक्का दिँदा सङ्ग्रहालय विकास समितिको नेतृत्व, तत्कालीन पर्यटन सचिव यादव कोइराला र तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको समेत संलग्नता देखिएको छ। कोइरालाले सङ्ग्रहालयको आम्दानी बढाउन रीतपूर्वक ठेक्कामा दिएको दाबी गरेका छन् भने भट्टराईले निर्णयमा आफ्नो हस्ताक्षर देखाउनु भन्दै बचाउको प्रयास गरेका छन्। नारायणहिटी प्रकरणसँगै बतासले पोखरा, पाटन लगायतको क्षेत्रको धार्मिक र पर्यटकीय क्षेत्रको भौतिक संरचना सेटिङमा हात पारेको सार्वजनिक भइरहेको छ।
पुष २४, २०७८ शनिबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।