राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध परेन उजुरी, मनोनयन जाँच गर्दै निर्वाचन आयोग

उम्मेदवार दर्ता गराएका ४३ जना विरुद्ध कुनै उजुरी नपरेको र अहिले मनोनयन जाँचको काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
मनोनयन जाँचका क्रममा कुनै कैफियत देखिए उम्मेदवारी रुद्ध हुने प्रवक्ता पौडेलले बताए। ‘४३ जना उम्मेदवारविरुद्ध कुनै उजुरी परेन,’उनले उकेरासँग भने,‘अहिले उनीहरूको मनोनयन जाँच भइरहेको छ।’
शनिवार उम्मेदवारलाई मनोनयन फिर्ता लिने समय दिइएको र पुस २५ गते आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता पौडेलले बताए। १९ सदस्य पदका लागि माघ १२ गते मतदान हुनेछ।
निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन्।
प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन गरी १९ सदस्य निर्वाचित हुनेछन्।
पुष २३, २०७८ शुक्रबार १५:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।