एकै पटक २६ एसएसपीको सरुवा, ट्राफिक महाशाखा र अपराध महाशाखाका प्रमुख फेरिए

काठमाडौंः नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ। बिहीबार साँझ बसेको गृह मन्त्रालयको बैठकले एकै पटक २६ एसएसपीको सरुवा गरेको हो।
योसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन्। ट्राफिक महाशाखामा उमेशराज जोशी र अपराध महाशाखामा वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको छ।
यसअघि ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देहीमा र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान महाशाखा नक्सालमा सरुवा भएका छन्।
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकालको सरुवा गरिएको छ। यसअघिका राजेशनाथ बाँस्तोलालाई प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
यस्तै प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ।
पुष २३, २०७८ शुक्रबार १०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।