आज एमालेको जिल्ला अधिवेशन, सर्वसम्मत नेतृत्त्व चयन गर्न सर्कुलर

काठमाडौंः नेकपा एमालेले आज जिल्ला कमिटीमा अधिवेशन गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट बिहान ११ बजे एकैसाथ ६८ जिल्लाको अधिवेशनको भर्चुअल उद्घाटन गर्नेछन्।
९ वटा जिल्लामा भने मौसमी प्रतिकूलताका कारण शुक्रबार जिल्ला अधिवेशन आयोजना गर्न नसकिने र हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोकिने भएको छ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनपछि हुन लागेको जिल्ला अधिवेशनले जिल्लाको नेतृत्त्व टुंगो लगाउनेछ। जिल्ला नेतृत्त्व सर्वसम्मत चयन हुने बताइएको छ। सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसके निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ।
जिल्ला अधिवेशनपछि एमालेको प्रदेश अधिवेशन हुनेछ। गत मङ्सिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले यही पुस २३ गतेका लागि जिल्ला अधिवेशन हुने तय गरेको थियो। यस्तै माघ ८ गतेका लागि प्रदेश अधिवेशन तय गरिएको छ।
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि १०औं राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने जनाएको छ।
पुष २३, २०७८ शुक्रबार ०८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।