कोरोना नियन्त्रणमा सहयोग गर्न जापानले जनायो प्रतिबद्धता

जापानले नेपाललाई १६० वटा अक्सिजन जेनरेटर, २५ वटा ब्लड ग्यास एनालाईजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ।
भेटमा मन्त्री खतिवडाले कोरोना महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्रमुख प्राथमिकता दिएको बताए।
मन्त्री खतिवडाले नेपाल सरकारले आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा समेत गरेका छन्। नेपालको सामाजिक र आर्थिक विकासमा जापानको निरन्तर सहयोग, पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमहरूलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत अन्यमा महत्त्वपूर्ण योगदान रहेको मन्त्री खतिवडाले बताए।
नेपालका लागि जापनिज राजदूत युताकाले कोरोना नियन्त्रणमा आफूहरूले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताएको स्वास्थ्य मन्त्री खतिवडाको निजी सचिवालयले जनाएको छ।
जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनः निर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागी अनुदान सहायता जस्ता कार्यक्रममा सहयोग गरेको छ ।
पुष २२, २०७८ बिहीबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।