कांग्रेस सभापति देउवामाथि शेखर समूहको चार आरोप

भेलामा सहभागीहरूले देउवामाथि चार आरोप लगाएको हो। भेलामा सहभागीका अनुसार देउवाले बागमती प्रदेशमा सरकार विस्तारबाट विधान मिच्न सुरु गरेको, वरियतामा प्रोटोकल मिचिएको,पार्टी केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेको र राष्ट्रिय सभामा विधान मिचेर उम्मेदवार उठाएको आरोप लगाएको हो।
'विधान मिच्ने काम सुरु भयो। यो कामलाई रोक्न सकिएन भने किलो रित्तियो भन्दा पनि बाघ पल्कियो भने जस्तो हुन्छ,' भेलामा सहभागी सह महामन्त्री जीवन परियाले बताए।
भेलामा सहभागीहरूले सभापति देउवाले पेलेर जान खोजेको र यसप्रति सतर्क हुनुपर्ने बताएका थिए। चुनावको मुखमा पार्टी सभापतिलाई सहयोग गर्नुपर्नेमा भने उनीहरू सहमत देखिएका छन्।
भेलामा महामन्त्री गगन थापाले ४० प्रतिशत जनमतलाई पाखा लगाएर सभापति पार्टीमा सफल बन्न नसक्ने बताएका थिए। राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन भएको र निर्वाचनका लागि यो अन्तिम गठबन्धन भएको उनले दाबी गरेका थिए।
'अब कांग्रेस चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन। एक्लै चुनाव लडेर बहुमत ल्याउने अनि देशको पहिलो पार्टी बन्ने हो,' थापाले भने।
'राष्ट्रिय सभाको चुनावमा पार्टीलाई घाटा नहोस् भन्नका लागि सभापतिलाई सघाउनुपर्छ। तर भागबन्डा नगर्ने नीति भए पनि सभापतिले गर्ने हरेक काममा चुप भने बस्न सकिन्न भन्ने मत आएका छन्,' भेलामा सहभागी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए।
पुष २१, २०७८ बुधबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।