शेखरले भने : सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना

देउवाले दुई पटक निर्णय गरेर १३ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। मनोनीतहरू अधिकांश देउवा निकट छन्। पार्टीको १४ औँ महाधिवेशनमा विभिन्न पदमा पराजितहरू समेत मनोनीत भएका छन्।
आफू निकट नेताहरूको भेलामा उनले एक अपिल जारी गरेर नियुक्ति पाएकाहरू सक्षम र योग्य नै भए पनि मापदण्ड के हो भन्ने आफूहरूले जान्न चाहेको उल्लेख गरेका छन्। उनले पार्टीमा पार्टीमा न्यायोचित अवसरको वितरण नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्ने उल्लेख गरेका छन्।
कोइरालाले सभापतिलाई मन पर्ने र नपर्नेका रूपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। उनले सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट गर्दा पार्टीमा दुर्घटना हुन सक्ने भन्दै विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न प्रयत्न गर्नुपर्ने बताएका छन्।
उनले नेतृत्वले निर्णय गर्दा सबै कांग्रेस एकै परिवारका सदस्य हुन् भन्ने भावनाबाट नेतृत्व गर्नुपर्ने अपिलमा उल्लेख गरेका छन्। पार्टी नेतृत्वको गतिवधी र निर्णयले कांग्रेस सङ्गठनमा निराशा पैदा भए अगाडिका निर्वाचन असहज हुन सक्ने र पार्टीमा ऊर्जा सञ्चार गर्न नसके पार्टी शिथिल हुने बताएका छन्।
उनको अपिल
साथीहरू,
नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम लागेको छैन। पार्टीको १४औँ महाधिवेशनले केही साथीहरूलाई महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याएको छ भने केही साथीहरूलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको छ।
सङ्गठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरूलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन्। त्यस कारण हामी अग्नि परीक्षामा छौँ।
हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ। अहिले पार्टी सङ्गठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान्, इमानदार, त्यागी र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ।
हामी लोकतन्त्रवादीहरू राजनीतिक खेल एउटा नियम सङ्गत रूपमा अगाडि बढोस् भन्ने चाहन्छौँ। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हाँ, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस सङ्गठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ।
पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ। तर के "मापदण्ड" अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौँ। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।
सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने मलाई थाहा छ। हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टी भित्र हुने सबै कार्यहरू न्यायसङ्गत, विधि र विधान, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ। यी विषयहरूमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ? मलाई लाग्छ हामी सक्छौँ।
हाम्रा अगाडिका बाटाहरू सहज छैनन्, तीन तहको निर्वाचन हाम्रो सामु छ। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देश भरी साथीहरू सामु जानेछौँ। कांग्रेस एकताको सन्देश र रूपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ। हामी थाक्ने छैनौँ र विश्राम लिने छैनौँ। हामी कुनै पनि कार्यकर्ता साथीहरूको शिर झुक्न दिने छैनौ र निराश हुन दिने छैनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौँ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौँ।
जय नेपाल
डा. शेखर कोइराला
२१ पौष २०७८
पुष २१, २०७८ बुधबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।