अतिरिक्त शुल्ककाे विराेध गर्दै सडकमा निस्के केएमसीका विद्यार्थी 

अतिरिक्त शुल्ककाे विराेध गर्दै सडकमा निस्के केएमसीका विद्यार्थी 

सत्तारुढ र प्रतिपक्षी दल निकट विद्यार्थी सङ्गठनको समर्थनमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीले सडकमै निस्केर विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरूले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे। उनीहरूले अतिरिक्त शुल्क लिएर विद्यार्थी लुट्न नपाइने नारा लगाए। केएमसीकी विद्यार्थी प्रभा क्षेत्रीले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षामा प्रवेश गर्न नदिएको बताइन। 

पाँच लाख रुपैयाँ भर्ना शुल्क बुझाए पनि केएमसीले ६० हजार अतिरिक्त शुल्क माग गरेपछि आफूहरू आन्दोलित बनेको विद्यार्थीले बताएका छन्। 

राष्ट्रिय चिकित्सा विद्यार्थी सङ्घका अध्यक्ष डा.सुजन कडरियाले चिकित्सा शिक्षामा कलेजहरूले विद्यार्थीसँग बढी शुल्क लिएर लुटिरहँदा पनि सरकार लाचार बनेको आरोप लगाए। काठमाडौँ मेडिकल कलेजले बढी शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नै गर्न नदिएको कडरियाले बताए। 

उनले विद्यार्थीको आन्दोलनमा संयुक्त विद्यार्थीको मोर्चा नै बनेको सुनाए। विद्यार्थीलाई न्याय दिन माग गर्दै भएको प्रदर्शनमा चिकित्सा शिक्षा ऐनमा तोकिएको शुल्क कायम गर्न नारा लगाए।

पुष २१, २०७८ बुधबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।