राष्ट्रिय सभा सदस्य चुनाव, पुराना उम्मेदवारको नाम हटाउँदै निर्वाचन आयोग

दलहरूले आआफ्नो तर्फबाट उम्मेदवारको नाम तय गरेका छन्। उम्मेदवार मनोनयन गरेका नाम मध्ये कतिपय उम्मेदवार यसअघि समानुपातिकबाट सांसद बन्न नसकेकाहरू पनि रहेका छन्।
समानुपातिकबाट सांसद बन्न नसकेका ७ जनालाई दलहरूले राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा निर्वाचन आयोगलाई भने २०७४ सालको बन्द सूचि हेर्न भ्याइ नभ्याई भएको छ। आयोगले ३ जनाको नाम समानुपातिकतर्फको बन्द सूचिबाट हटाए पनि अरू उम्मेदवारको नाम खोजिरहेको जनाएको छ।
२०७४ सालमा दलहरूले बुझाएको बन्द सूचिमा उम्मेदवार बनेकाहरूको नाम खोज्ने र हटाउने काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले बन्द सूचिमा रहेका ३ जनाको नाम हटाउने निर्णय भने भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए। ‘प्रतिनिधि र प्रदेश सभाको बन्द सूचिमा रहेका तीन जनाको नाम हटाउने निर्णय भएको छ’,पौडेलले भने,‘अरू ४ जनाको नाम हटाउन बन्द सूचि हेर्ने काम भइरहेको छ।’
आयोगले बन्द सूचिमा नाम रहेका र अहिले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न लागेकाहरूको नाम मंगलबार मात्रै सार्वजनिक गर्ने जनाएको छ।
एउटै व्यक्ति दुईतिर उम्मेदवारको सूचिमा राख्न नमिल्ने भएकाले २०७४ सालमा दलहरूले बुझाएको समानुपातिकतर्फको सूचि हेरेर नाम हटाउने काम भइरहेको प्रवक्ता पौडेलले बताए।
पुष १९, २०७८ सोमबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।