निजी क्षेत्रको गुनासो : उत्पादनमुखी क्षेत्रमा लाग्ने वातावरण पाइएन

महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भएको बताए।
भक्तपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मानमा भएको कार्यक्रममा अध्यक्ष गोल्छाले उत्पादनमुखी क्षेत्रमा लाग्ने वातावरण नभएको बताए। उनले निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुखी क्षेत्रमा केन्द्रित हुन तयार रहेको बताए।
सरकारले राजस्व सङ्कलनमा जस्तै पुँजीगत खर्चमा तदारुकता देखाउन नसकेको गोल्छाको भनाई थियो। उनले भक्तपुर उद्योग वाणिज्य सङ्घले थालेका सबै कार्यमा महासङ्घले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटक भित्र्याउने गरेको भन्दै भक्तपुर पनि पर्यटक भित्र्याउन केन्द्रित हुनुपर्ने सुझाव दिए।
महासङ्घका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको युवा टिमले त्यसैको आधारमा काम गर्नुपर्ने सुझाव दिए। सङ्घका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले स्थानीय निकायले जथाभाबी उठाएका करहरू रोकिनुपर्ने र चेम्बर कानुन ल्याउनु पर्ने बताए।
पुष १९, २०७८ सोमबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।